सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी
- चैत्र २७, २०७९
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन् ।
उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागे । उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए ।
सार्वजनिक भएको अडियो प्रकरण नेपाली राजनीतिमा दुर्लभ घटना नभएको पनि उनको भनाइ थियो । यस्ता घटना विगतमा पनि घट्ने गरेको र र यो घटनलाई रास्वपाले सामान्य ढंगले नहेरेको पनि उनको भनाइ थियो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारबिरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्दछ । राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई मान्दछ । संविधानवादलाई मान्दछ । विधि र विधानलाई मान्दछ । यसो भनिरहँदा हामीलाई लाग्दछ भ्रष्टाचारीको कुनै जाति हुँदैन । कुनै वर्ग हुँदैन । र यो घटनालाई रास्वपाले गम्भिर रुपमा लिएको छ । यसो भनिरहँदा नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर ति सबैको सत्यतथ्य छानबिन हुनसक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ । म सभामुखमार्फत माननीय प्रतिनिधि सभा सदस्यहरुलाई हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाले तपाइहरुको सम्मानमा परेको चोटप्रति क्षमाप्रार्थि चाहन्छौँ,’ उनले संसदमा भने ।










