प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीमण्डल पुनर्गठन
- चैत्र १७, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् ।
पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेपनि पूर्णता भने दिन सकेनन् । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।
नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण हुँदैछ । पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । यद्यपि जनमतका खानले खानेपानी मन्त्रीमा चित्त नबुझाएर राजीनामा दिएका छन् ।
पुनर्गठित मन्त्रीपरिषदमा यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी कांग्रेस नेता पूर्ण बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका डा प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग र सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी र प्रकाश ज्वाला भौतिक योजना, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्थाको जिम्मेवारी पाएका छन भने माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।










