‘प्रहरी संगठनको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा’ : प्रहरी महानिरीक्षक कुँवर
- चैत्र १२, २०७९
- 0
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्।
आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उनले यस्तो बताएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटिहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए।
प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे। उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्प बिना काम गर्ने प्रतिबद्धता जनाए।
प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गरे।
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे।










