नेपाललाई अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन ब्यूरो’को जिम्मेवारी

news-details

नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी पाएको छ ।

कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई कोअर्डिनेसन व्युरोको नेतृत्व प्रदान गरेको हो । एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक हस्तान्तरण हुनेछ ।

मार्च ५ देखि दोहामा सुरु भएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रहरूलाई माथि उठाउन के गर्नुपर्छ भन्ने बारेका ठोस आवाज उठाएको बताए । सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्टित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु सङ्कटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्थाले पैदा गरेका चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्ले सोच्नुपर्नेमा उनले जोड दिएका थिए ।

सम्मेलनको पहिलो चरणमा पारित ‘दोहा प्रोग्राम अफ एक्सन’ले पनि यिनै मुद्दाको कार्यान्वयनमा विशेष जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घद्वारा जारी ‘सस्टेनेबल डिभलपमेन्ट गोल’लाई सन् २०३० सम्ममा हासिल गर्ने छलफल समेत सम्मेलनमा भएको थियो ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज नेपालले उठाएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले सम्मेलनक्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवं पदाधिकारीसँग र नेपाली प्रतिनिधिमण्डलको द्विपक्षीय, बहुपक्षीय भेटवार्ता तथा छलफल भएको थियो । त्यसक्रममा अबको नेतृत्वका रूपमा नेपालले अतिकम विकसित वा गरिब राष्ट्रहरूलाई सबैको हितका निम्ति गोलबन्द गर्ने विश्वास निर्माण गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया