राष्ट्रपति निर्वाचनअघि नै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड
- फाल्गुन १६, २०७९
- 0
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः विश्वासको मत लिने तयारीमा जुटेका छन् । गएको पुस १० एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । गएको पुस १० गते सात दलका सांसदहरु र ३ स्वतन्त्र सांसदको समेत गरि एक सय ६९ जनाको समर्थन पाएर प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेससहित ८ दलीय गठबन्धनसँगको सहकार्यमा पुगेपछि पुनः विश्वासको मत लिने तयारीमा जुटेका हुन् । एमालेले सोमबार र राप्रपाले गएको शनिबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । उनले संविधानको धारा १०० को उपधारा दुई बमोजिम विश्वासको मत लिन लागेका हुन् । उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । त्यसैलेपनि निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्ने भएकाले अगाडि नै विश्वासको मत लिने तयारी भएको हो ।
गत पुस १० गते नेकपा एमालेसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । प्रचण्डले नेपाली कांग्रेसहितका दलहरूबाट २६८ मत पाएका थिए । फागुन १२ गते ८ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ ।
अहिले प्रचण्ड नेतृत्वको सरकारलाई ८ दलका १ सय ५३ जना सांसदको साथ रहेको देखिन्छ । जसअनुसार नेपाली कांग्रेसका ८८, नेकपा माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र राष्ट्रिय जनमोर्चा एकसहित १ सय ५३ सांसदको साथ छ। संवैधानिक अवस्थालाई ध्यानमा राख्दा अब आउँदो चैत्र १२ गतेभित्र प्रधानमन्त्रीले विश्वासको मत लिइसक्नु पर्ने छ ।










