बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन ।

सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्रीले भने, “मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन–जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’’

उनले थप्दै भने, “राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’’

उनले दुई महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित गरे । प्रधानमन्त्री प्रचण्डले भने, “दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौँ । त्यतिन्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौँ, उनीहरूका सुझाव लिऊँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौँ । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौँ ।’’

“समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको छ, आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्छौँ । देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्त्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ’’ उनले भने ।

वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको पनि प्रधानमन्त्री प्रचण्डले भने । उनले भने, “नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ । अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ । हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।’’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया