यातायात व्यवसायी र सरकारबीच सहमति, सार्वजनिक यातायात बन्द फिर्ता
- फाल्गुन २, २०७९
- 0
नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्द फिर्ता लिने सहमति भएको उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए ।
ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।










