सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने
- माघ २५, २०७९
- 0
आज तय भएको सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम थियो।
प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।
प्रदेशसभा बैठक स्थगित भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका कैदीबन्दी रिहा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावल अप्ठ्यारो परेका छन । उनले विश्वासको मत पाउन नागरिक उन्मुक्तिको साथ आवश्यक छ ।
कानुनी प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने समयसीमाको भोलि अन्तिम दिन हो । उनी संविधान धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।










