कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने, माओवादी उम्मेदवार अर्याल निर्विरोध हुने सम्भावना
- माघ २२, २०७९
- 0
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
निजी सचिव केशवराज जोशीले राष्ट्रिय उपाध्यक्ष पदको निर्वाचनमा सङ्घीय संसदमा रहेका विपक्षी दलहरुका नेताहरुसँगको छलफलमा उम्मेदवारी नदिने सल्लाह भए बमोजिम बैठकले उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए ।
यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । अध्यक्षले मतदान नगर्ने भएकाले ५७ मध्ये २९ मत पाउनेले उपाध्यक्ष जित्न सक्छन् ।










