शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
- माघ १५, २०७९
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन ।
आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।’
प्रधानमन्त्री प्रचण्डले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने, ‘गंगालाल हृदय केन्द्र देशभका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’
‘यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शहीद गंगालाल हामी सबैले सम्मान गर्ने नाम हो । तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। बिपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रह्यो। उक्त कार्यकालमा स्वास्थ्य वीमा लागू गरियो। विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो। प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो। स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो। मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ। त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ।’










