माटोको मूर्ति बनाउन ब्यस्त कालीगढहरु
- माघ १२, २०७९
- 0
विहीबार आज श्रीपञ्चमी एवम् सरस्वती पुजा । हिन्दु धर्मावलम्बीहरुले विद्याकी देवीका रुपमा मनाउने सरस्वती पूजाका लागि बारा र पर्साका मुर्तिकारहरुलाई सरस्वतीको मूर्ति बनाउन भ्याइ नभ्याई छ । मार्ग शुक्लपञ्चमीका दिन सरस्वतीको विशेष पूजाआजा गर्ने गरिन्छ ।
यसैदिन बालबालिकाको अक्षरारम्भ पनि गर्ने चलन छ । विद्यालयदेखि विभिन्न ठाउँमा गरिने पूजाका लागि मुर्ति बनाएर मुर्तिकारहरुले आफ्नो व्यापार व्यवसाय संचालन गर्दै आएका छन् ।
वीरगन्जको लालबंगला, पावरहाउस चोक, मुरलीचोक लगायतका विभिन्न ठाउँमा सरस्वतीको मुर्ती बनाउने काम धमाधम चलिरहेको छ ।
मुर्तिकारहरुले विभिन्न देवी देउताको पूजाका लागि माटोको मुर्तिहरु बनाएर विक्री वितरण गर्दै आएका छन् । विशेष गरी देवी सरस्वती, विश्वकर्मा बाबा तथा दुर्गा भवानीको मुर्ति बनाएर विक्री गर्ने गरिन्छ ।
बडादशैंकाबेला दुर्गा भवानी, असोज १ गते विश्वकर्मा बाबा र श्रीपञ्चमीमा सरस्वतीको मुर्तीहरुको माग हुने भएकाले मुर्तिकारहरुले माटोको मुर्ति बनाउने गर्दछन् । यस्ता मुर्तिहरु बनाउन भारतीय कालीगढहरु समेत आएका हुन्छन् । पछिल्लो समय नेपाली कालीगढहरुले नै माटोका मुर्तिहरु बनाएर आम्दानी गर्ने गरेका छन् ।
यतिबेला पर्साको धोबिनी गाउँपालिका ४ बखरी टोल निवासी मुर्तिकार सुरेन्द्र बैठा सरस्वतीको मुर्ति बनाउन व्यस्त छन् । उनले अरु ४ जना कामदारलाई ज्यालादारीमा राखेर मुर्ति बनाईरहेका छन् । गत वर्षसम्म ७० वटा मुर्ति विक्री गरेका बैठाले यस वर्ष एक सय भन्दा बढि मुर्ति विक्री गरिसकेका छन् ।
मुर्ती बनाउनमा लागत कम भएपनि मेहनत बढि लाग्ने गर्दछ । माटो, पराल, बाँस तथा काठका केही टुक्राबाट बनाइने मुर्तीमा सबैभन्दा बढि मेहनत लाग्ने गर्दछ ।
एउटा मुर्ती बनाउन ४ देखि ५ हजार रुपैया लाग्ने गरेको र ७ देखि ८ हजारमा विक्री गर्दा प्रतिमुर्ति २ देखि ३ हजार रुपैया बचत हुने गरेको कालीगढहरु बताउँछन् ।
यस्तै, बाराको बरियारपुर कलैया, हरनहिया, जीतपुर लगायतका बिभिन्न ठाउँमा पनि यतिबेला सरस्वतीको मुर्ति बनाउन कालिगढहरु ब्यस्त छन् ।
हरेक वर्ष श्रीपञ्चमीको समयमा सरस्वतीको मुर्तिहरुको माग अत्याधिक हुने उनीहरु बताउँछन् । यो समयमा माटोको मुर्तिबाट लाखौं रुपैयाँ आम्दानी हुने गरेको उनीहरुको भनाइ छ ।
विशेष गरि दुर्गापुजा, विश्वकर्मापुजा, कृष्णाजन्माष्टमी र सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेको छ । सरस्वती पुजा धार्मिक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरुले बताएका छन् ।
विशेष गरि दुर्गापुजा, विश्वकर्मापुजा, कृष्णाजन्माष्टमी र सरस्वति पुजाको समयमा मुर्तिको माग हुने गरेकोले कालीगढहरु यसतर्फ आकर्षित हुने गरेका छन् ।










