सभामुख चयनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन हुँदै
- पुस ३०, २०७९
- 0
गण्डकी प्रदेशले आज सभामुख पाउँदैछ । जसका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन हुँदैछ ।
सभामुखका लागि सत्तारूढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताललाई उम्मेदवार बनाएको छ ।
धिताल गोरखा क्षेत्र नं १ (१) बाट गण्डकी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनलाई सभामुख बनाउनका लागि माओवादी गण्डकी प्रदेशस संसदीय दलको बैठकले सर्वसम्मव उम्मेदवार बनाएको हो ।
प्रदेशसभाको बैठक शुक्रबार पनि बसेको थियो । सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मित्रलाल बस्यालले गरेका थिए ।
उनै बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन्। गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने यसअघि नै सत्ता गठबन्धनमा सहमति भइसकेको छ ।
सहमति अनुसार नै गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भइसकेका छन् । उनले शुक्रबार नै प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।
आज हुने सभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो उम्मेदवार तय गरिसकेको छैन । गण्डकीमा ६० सदस्य प्रदेशसभा रहेको छ ।
जसमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस रहेको छ । उसको २७, त्यस्तै एमालेको २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन्।










