गठबन्धनको बैठक विना निष्कर्ष सकियो, भोलि फेरि बैठक बस्ने

news-details

नयाँ सरकार गठनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालका अनुसार पार्टीभित्र छलफल गरेर आइतबार पुनः बैठक बस्नेगरी शनिबारको बैठक सकिएको हो।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको उनको भनाइ छ। निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते एक साताको समय निर्धारण गरेकी थिइन । समय आइतबार सकिने भएकाले प्रधानमन्त्रीको विषयमा छलफल भएको महासचिव भुसालको भनाइ छ।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन ।

सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन्। अर्को बैठक आइतबार दिउँसो बस्ने उनको भनाइ छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया