प्रधानन्यायाधीश चोलेन्द्र विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय

news-details

सङ्घीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जनाएको छ ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश जबरामाथि तत्कालीन संसद्ले लगाएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी आज दिए ।

संसद् सचिवालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र संवैधानिक परिषदलाई महाभियोग प्रस्ताव निष्क्रिय भएको बेहोराको पत्र पठाएको जानकारी प्रवक्ता पाण्डेले दिए ।

उनका अनुसार सोमबार जबराले संसद् सचिवालयमा ‘महाभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ’ भन्दै निवेदन दिएका थिए ।

त्यसपछि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी पत्रमा भनिएको छ, ‘‘महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु । प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि उहाँले दिनुभएको निवेदनको छायाँ प्रति यसै साथ संलग्न रहेको छ ।’’

जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया