प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना आज सकिने

news-details

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत ९एक करोड नौ लाख ७३ हजार २७० मत खसेको जनाइएको थियो ।

एमालेले २८ लाख कटायो

मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ। १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ अर्थात २५.६५ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० अर्थात ११.११ प्रतिशत मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ अर्थात १०.७३ प्रतिशत मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ अर्थात ५.६० प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ अर्थात ४.०२ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ अर्थात ३.७७ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० अर्थात २.८८ प्रतिशत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ अर्थात २.५० प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन्।

अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन्। प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ।

कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था छ। हालसम्म ३ प्रतिशत भन्दा बढी मत ल्याउने दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी गरी सात वटा छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया