सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

news-details

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (शुक्रबार) पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेसी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।

बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।

जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया