पोखरामा आन्तरिक पर्यटकको घुइँचो
- कार्तिक १३, २०७९
- 0
चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँच जना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुगे । चारदिने भ्रमणमा निस्केका उनीहरु स्कुल पढ्दाका साथीहरु हुन । अहिले उनीहरु देशका विभिन्न कलेजमा पढ्दै छन ।
तिहार र छठ पर्वमा लामो बिदा हुँदा सबै साथी भरतपुरस्थित घरमा जम्मा भएपछि लुम्बिनी हुँदै पोखरा घुम्ने प्याकेज बनाएको पुडासैनी बताउछन । काठमाडौँको माइतीघरस्थित सेन्ट जेबियर्स कलेजमा ‘एमएस्सी फिजिक्स फोर सेमेष्टर’मा अध्ययनरत पुडासैनी अरु पाँच साथी लिएर पोखरा घुम्न आएका हुन ।
पर्यटकीय सहर पोखराका रमणीयस्थल अवलोकन गर्नका लागि भरतपुरबाट लुम्बिनी हुँदै पोखरा घुम्न आएका ती विद्यार्थीले शनिबार बिहानैदेखि पोखराका पर्यटकीयस्थल पुम्दीभुम्दीको शान्ति स्तुप, शिवमहादेव मन्दिर, फेवातालको मध्य भागमा रहेको बाराही मन्दिरको अवलोकन गरिसकेका छन् । आइतबार केही स्थलको अवलोकन गर्दै फर्कने तयारीमा उनीहरु छन ।
शुक्रबार साँझ पोखराको लेकसाइड आएका ती विद्यार्थीले होटलको कोठासमेत पाउन मुस्किल पर्यो । लेकसाइड भरि खोज्यौँ सबै प्याक भइसकेको खबर होटल सञ्चालकहरुले सुनाए । “राति ९:३० बजे मात्र न्यू दर्शन होटलमा सुत्ने कोठा पाइयो”, विद्यार्थी मध्येका एक मनिष पौडेलले भने, “पोखरा यतिबेला आन्तरिक र भारतीय पर्यटकले भरिएको रहेछ ।”
भक्तपुरबाट पारिवारिक भ्रमणमा निस्केको २१ जनाको समूह गोरखाको मनकामना हुँदै पोखराका धार्मिक तथा पर्यटकीयस्थल घुम्न आएको छ । उक्त समूहकी एक सदस्य जगनदेवी साहुखल शनिबार दिउँसो फेवातालमा डुङ्गाको पालो कुर्दै थिइन ।
डुङ्गाबाट फेवातालको मध्य भागमा अवस्थित बाराही देवीको दर्शन गर्न जानकै लागि त्यो समूहले डुङ्गाको टिकट काटेको थियो तर पर्यटक भरिभराउ भएकै कारण उनीसहितको समूहले डुङ्गा चढ्नका लागि १ घण्टाको समय पर्खनुपर्यो । टिकट काटेको एक घण्टापछि मात्र फेवातालको मध्यभागमा रहेको बाराही मन्दिर दर्शन गर्न जानका लागि पालो पाएको उनीहरु बताउछन ।
काभ्रेको पनौतीबाट पोखरा घुम्न आएका कपिलमणि हुमागाईसहित छ जनाको समूह काठमाडौँ हुँदै पोखरा घुम्न आएको छ । पोखरा पर्यटकीय र रमणीयस्थल भएका कारण पोखरा रोजेर घुम्न आएको र यहाँको फेवाताल तथा अन्य मनमोहक दृश्यले आनन्द दिलाएको बताउँदै उनले भने, “पोखरा त साचिँकै पोखरा नै रहेछ ।”
डुङ्गा व्यवसायी चन्द्रकुमारी विश्वकर्माले दसैँमा वर्षात्का कारण आन्तरिक पर्यटक आउन नसकेको र तिहार र छटपर्वमा एकैपटक लामो बिदा भएकै कारण आन्तरिक पर्यटकको चाप फेवातालमा पनि परेको बताउछिन ।
फेवातालमा डुङ्गा चढ्ने पर्यटक दुई दिनदेखि खचाखच भएको विश्वकर्मा बताउछन । डुङ्गा व्यवसयी यतिबेला व्यस्त छन् । प्रति पर्यटक डुङ्गा चढी मन्दिर पुगेर फर्केको ६० रुपैयाँ र लाइफ ज्याकेटको प्रतिगोटा १० रुपैयाँ लिने गरिन्छ ।
पर्यटकको भीड बढे पनि डुङ्गा शुल्कमा वृद्धि नगरिएको जानकारी फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले लामो बिदा भएकै कारण केही मात्रामा आन्तरिक पर्यटकमा वृद्धि भएको र सरकारी बिदा सकिएपछि पर्यटक घट्ने बताए ।
अधिकांश आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा भएकाले पनि पोखरामा बिदाको समयमा आन्तरिक पर्यटक बढ्नु स्वभाविक भएको सुवेदी बताउछन । भारतीय पर्यटकको हकमा मुक्तिनाथ दर्शनका लागि जान पोखरा हुँदै आउने गरेको र उनीहरु मुक्तिनाथ जाँदा एक रात र फर्कदा एक रात मात्र पोखरामा बास बस्ने हुँदा उनीहरुको बसाइँ पोखरामा दुईदेखि तीन दिनको बनाउन जरुरी भएको सुवेदीको भनाइ छ ।
पोखरामा पाँच सय बढी पर्यटकीय होटल रहेको र एक दिनमा ३० हजारको सङ्ख्यामा पर्यटक सुत्न सक्ने कोठा रहेको जानकारी होटल व्यवसायीले दिएका छन् ।
-रासस










