नेपाल ग्रीन हाइड्रोजन समिट भोलिदेखि सुरु, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

news-details

नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।

ग्लोबल एनआरएन फाउण्डेशन र एमआइटी ग्रुपले नेपाल सरकारसँग सहकार्य गरेर असोज २४ गते सोमबार (भोलि) र २५ गते अर्थात अक्टोवर १० र ११ मा नेपालमा नै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ गर्ने भएको हो ।

नेपाल हरित हाइड्रोजन सम्मेलनः ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना हुन लागेको समिटमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त सहकार्य रहेको जनाइएको छ ।

सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको जनाएको छ ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले उद्घाटन गरेसँगै अर्थमन्त्री जर्नादन शमौ, उर्जा मन्त्री पम्फा भुषाल, काठमाडौं युनिर्भिसिटीका भाइस चान्सलर भोला थापा, विभिन्न देशका राजदूत तथा विषय विज्ञहरुले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी ग्लोवल एनआरएन फाउण्डेशनका अध्यक्ष विनोद कुँवरले जनाकारी दिए ।

एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र श्रोत उल्लेख्य भए पनि व्यावसायिक रूपमा कसरी अगाडी बढ्न सकिन्छ भने अध्ययन गर्न आवश्यक रहेकोले अब बिस्तारै ग्रिन हाइड्रोजनमा जानै पर्ने भएका कारण परिणाम कसरी ल्याउन सकिन्छ भन्ने बारेमा नीतिगत तथा व्यवहारिक निर्णय लिन सम्मेलन आयोजना गरिएको बताए ।

एनआरएनए फाउण्डेसनका अध्यक्ष कुँवरले सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र विश्लेषण हुने बताए । कुँवरका अनुसार नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।

ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताइन् ।

काठमाडौंको सोल्टी होटलमा हुने दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया