नारायणीमा पानीको बहाव यस वर्षकै उच्च, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

news-details

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको सङ्केत मानिन्छ ।

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले दिएको जानकारीअनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।

गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि ३६ मध्ये २२ ढोका खुला गरिएको छ ।

बुधबार रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए ।

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । उनका अनुसार बिहान ७ बजेको मापनानुसार पानीको बहाव दुई लाख ४० हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी आफूहरुले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोल्ने काम हुने उनको भनाइ थियो । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उनले आग्रह गरे ।

गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया