गोठाटार गोलीकाण्डको अनुसन्धान गर्न विशेष समिति गठन
- अशोज ४, २०७९
- 0
गोठाटार गोलीकाण्डको सम्बन्धमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। गार्मेण्ट व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि विशेष समिति गठन गरिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान समिति गठन गरेको हो।
सर्लाही हरिवन–२ स्थायी घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गार्मेण्ट व्यवसाय सञ्चालन गर्दै आएका मोहम्मदमाथि सोमबार साँझ अज्ञात समूहबाट गोली प्रहार हुँदा उनको उपचारका क्रममा मृत्यु भएको हो।
आफू सवार गाडी पार्किङ गरी निस्कँदै गर्दा उनीमाथि चारवटा गोली प्रहार भएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार, दर्जीको टाउको, छाती र कम्मरमा गोली लागेको थियो।
टाउको र छातीमा लागेको गोलीका कारण अत्यधिक रगत बगेको हुँदा उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उपत्यका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकले घटना रहस्यमय देखिएकाले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय अनुसन्धान समिति गठन गरिएको बताए ।
विवादस्पद छविसँगै विगतमा पनि हत्या घटनामा केही वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएका मोहम्मदले आर्थिक लेनदेनको विवादमा आफूलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी वृत्त बौद्ध र सो अन्तर्गतको एक प्रहरी कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएको बताइएको छ।
सो निवेदनमा उल्लेख गरिएका व्यक्तिको परिचय भने खुलाइएको छैन। अपराध महाशाखा प्रमुख एवं अनुसन्धान समितिका संयोजक भट्टराईले हत्या घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।
हत्या घटनामा सलंग्न रहेको आशंका गरिएका तीन जनामध्ये एक जना गोठाटारकै कोशीपारी गेष्टहाउसमा विगत एक महिनादेखि बस्दै आएको पाइएको छ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले भने, ‘घटनाको विस्तृत विवरण आउन केही समय लाग्छ। व्यापारी मोहमम्द आउने मौका छोपी बसेकामध्ये एक जनाले गोली चलाएको र दुईजना मोटरसाइकल रोकेर बसेको दृश्य प्रहरीले अनुसन्धानका लागि लिएको सीसी टिभी भुटेजमा देखिन्छ। घटनास्थलबाट स्वचालित पेस्तोल र सोमा प्रयोग भएको गोली तथा खोकासमेत बरामद गरेको छ।
उक्त हत्या घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँको छुट्टा छुट्टै टोलीले अनुसन्धान गरिरहेका छन्। साँझको समयमा राजधानीमै सर्वसाधारणलाई आतङ्कित पर्ने गरी भएको फिल्म शैलीको घटनामा प्रयोग भएको मोटरसाइकलबाट प्रहरीले अनुसन्धान थालेको छ।










