नागरिकता विधेयक प्रमाणिकरण गर्ने आज अन्तिम दिन, राष्ट्रपतिले प्रमाणिकरण नगरे स्वतः निस्क्रिय हुने
- अशोज ४, २०७९
- 0
नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको आज (मंगलबार) १५ दिन भएको छ ।
संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्ममा उक्त विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ । उनले विधेयकमा लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ । प्रमाणिकरण गर्ने अन्तिम दिनसम्म पनि राष्ट्रपति भण्डारीले के गर्ने हो भन्ने आशंका सबैतिर छ ।
सरकार र सत्ताधारी दलहरु राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगर्ने हो कि भन्ने त्रासमा रहेको देखिन्छ । संविधान दिवसका दिन सोमबार साँझ शीतल निवासले आयोजना गरेको चियापान कार्यक्रम अघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीसँग विधेयक प्रमाणिकरणको विषयमा कुरा गरेको तर राष्ट्रपति भण्डारीबाट सकारात्मक संकेत नपाएको सन्देश देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिएको बुझिएको छ ।
नागरिकता ऐन संशोधन विधेयक प्रमाणिकरण नभए के गर्ने भन्नेमा सत्ताधारी दलहरु नै अन्योलमा परेका छन् । यता, राष्ट्रपति कार्यालयले भने राष्ट्रपतिको भूमिकालाई जोडेर प्रकाशित समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘राष्ट्रपति कार्यालयबाट भए-गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको बताएको छ।
राष्ट्रपति कार्यालय र राष्ट्रपति भण्डारीलाई जोडेर भ्रामक समाचार प्रकाशन भइरहेको राष्ट्रपति कार्यालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










