चीनका राष्ट्रिय जनकङ्ग्रेस अध्यक्ष ली काठमाडौं आइपुगे, यस्तो छ भ्रमण कार्यतालिका

news-details

छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आइपुगेका छन ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाले अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका छन । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन । उनी भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत नेपाल आएका हुन । सोमबार नै सभामुख सापकोटा र लीकाबीच दुई पक्षीय वार्ता हुने कार्यसूची छ ।

सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने भएका छन ।

भ्रमणको दोस्रो दिन मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट गर्ने कार्यसूचीमा उल्लेख छ । सोही दिन उनले परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि छुट्टै भेट गर्नेछन ।

बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्टपतिभवनमा पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छ । त्यस्तै, अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन ।

नेपालमा रहदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदा भएका सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई परियोजना तथा अन्य विकास साझेदारीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि नयाँ पहल र छलफलका विषय नेपाली पक्षसँग राख्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया