प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेट
- भदौ २१, २०७९
- 0
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गरेका हुन ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भदौ १९ गते आइतबारदेखि सेनाध्यक्ष पाण्डे नेपालको औपचारिक भ्रमणमा छन । सोही अवसरमा आज पाण्डेले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन ।
यसअघि आजै बिहान पाण्डेले माउण्डेन फ्लाइट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरे । सो भ्रमणमा कलेजको वस्तुस्थितलगायत विविध पक्षबारे उनले जानकारी हासिल गरो थिए ।
भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए ।
यसैगरी, भारतीय सेनाध्यक्ष पाण्डे बुधबार मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने तालिका रहेको छ । मुक्तिनाथको दर्शनपछि पाण्डे पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।










