निलम्वित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो
- भदौ १६, २०७९
- 0
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । बिहीबार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो । आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन् ।
आज प्रधानन्यायधीशले न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरुको भनाइ छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठकले भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको बताए ।
उनले प्रधानन्यायाधीशले अहिले आफ्नो हिसावबाट जवाफ दिइरहेका र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निस्कर्ष निकाल्ने बताए । उनले आगामी निर्वाचनको दिनसम्म समितिलाई समय रहेको उल्लेख गर्दै सकेसम्म चाँडै टुंग्याउने रणनीतिमा समिति रहेको बताए ।
उनले भने, ‘छिटो सक्नुपर्ने कुरा भयो । १९ गते ११ बजे बस्छ, उहाँसँग फेरि बयान लिने काम हुन्छ । उहाँले अहिले आफ्नो किसिमले जवाफ दिनुभएको छ । हामी सबै छिटो टुंगिनुपर्छ भन्ने सोचमा छौँ । मंसिर ४ गते निर्वाचन छ, त्यो बेलासम्म हामीलाई समय छ भन्ने सोचेका छौँ ।’
त्यस्तै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले आजका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताए । उनले प्रधानन्यायाधीशले व्यक्त गर्नुभएको शब्दहरुमा आपत्ति जनाउनु नहुने बताए । उनले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताए ।
उनले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताए । उनले बुधबार बार, न्यायाधीशहरुमाथि आरोप लगाउनुभएको र आज संसद र सांसदहरुमाथि आरोप लगाउनुभएको स्पष्ट पारे ।










