महानगर अन्तर्गतका शिक्षक, कर्मचारीलाई दलीय आवद्धता त्याग्न मेयर बालेनको निर्देशन

news-details

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् ।

मेयर साहले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले कुनै पनि राजनीतिक दलसँग आवद्धता भए त्यो त्याग्न महानगरका शिक्षक तथा कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

ऐनको दफा १४ को उप दफा २ को खण्ड ग ले कुनै पनि सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीलाई राजनीतिक दलको सदस्यता दिन नहुने व्यवस्था रहेको छ ।

साथै, काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

कुनै शिक्षक वा कर्मचारी दलमा आवद्ध भएको पाइएमा आफ्नो इमेलमा जानकारी दिनसमेत उनले सार्वजनिक अपिल गरेका छन् ।

यसअघि निर्वाचन आयोगले पनि शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया