राजकीय सम्मानका साथ नेता गिरीको अन्त्येष्टि
- भदौ ५, २०७९
- 0
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।
स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तित्व आर्यघाटमा पुगेका छन ।
उनीप्रति श्रद्धा व्यक्त गर्न संघीय सरकारका मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेता गिरीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति आर्यघाटमा रहेको छ।
नेता गिरीको पार्थिव शरीरमा उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिएका छन । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनकी श्रीमती भारती सिल्वाल गिरी पनि आर्यघाट पुगेकी थिइन ।
समाजवादी चिन्तक गिरीको शनिबार राति क्यान्सर रोगका कारण ७५ वर्षको उमेरमा निधन भएको थियो।










