सत्ता गठबन्धन कार्यदलको आजको बैठक सकियो, आगामी बैठक साउन ३० गते बस्ने

news-details

पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल गर्न बैठक बसेको थियो ।

बैठकले केहीदिनभित्रमा आफ्नो काम सम्पन्न गर्नेगरी छलफल गरेको सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको विभिन्न मोडालिटीबारे छलफल गर्न आगामी साउन ३० गते बैठक बोलाएको माओवादी नेता देव गुरुङले जानकारी दिए । उनले गएको निर्वाचनमा दलहरुले प्राप्त गरेको मत, संसदमा अहिलेको उपस्थिति लगायतका विषयलाई हेरेर सिट बाँडफाँड गरिने जानकारी दिए ।

यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन ।

साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया