कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताए ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘‘केही मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।’’

क्यान्सर जस्ता घातक रोगहरुको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

‘‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ,’’ प्रधामन्त्रीले भने ।

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए ।

स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत गरेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकअन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ, नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन कटिबद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीन जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढङ्गले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको बताउदै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे ।

वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने औंल्याए ।

यसैगरी, वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाईं धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यकता रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया