तत्कालीन नेकपाका पाँच नेताको बैठक : बिचार मिल्नेबीच एकता गर्नेबारे छलफल भयो-प्रचण्ड

news-details

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरुका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए । उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पारे ।

‘हामी हिजो एउटै पार्टीवाला भयौं, नेकपाको बहुमत हौं,’ उनले भने, ‘त्यसैले विचार मिल्नेहरूबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ, पार्टी एकीकरणको पनि चर्चा गरेका छौं ।’

कांग्रेससँगको गठबन्धनलाई भने कायमै राख्नेबारेमा कसैको पनि विमति नरहेको बताउदै उनले भने, ‘यो गठबन्धनलाई चाहीँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन । तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ एकातिर । अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ । त्यसो भएको हुनाले विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ । त्यो भनेको यो गठबन्धनको विरुद्ध भनेको होइन है । पार्टी एकिकरणको बारेमा चर्चा गरेको छौँ ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया