आईजीपी बढुवा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
- असार २७, २०७९
- 0
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो । तर, सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा फेरि ‘हेर्दाहेर्दै’ मा राखेको हो ।
कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको उक्त मुद्दा यसअघि पनि पटक–पटक हेर्दाहेर्दैमा राखिएको थियो ।
प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआइजी० विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।










