अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय विशेष समिति गठन, करका दर हेरफेरबारे पनि छानबिन हुने
- असार २२, २०७९
- 0
अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा बोलाएर करको दर हेरफेर गरेको भन्ने विषयमा विवाद बढेपछि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको नाम संसदीय छानबिन विशेष समिति रहने जानकारी दिए ।
समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका छन ।
बुधबार अपराह्न ४ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा सभामुख सापकोटाले समिति गठनबारे प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख सापकोटाले भने, ‘‘जेठ १५ गते अर्थमन्त्रीद्वारा टेबल भएको आर्थिक वर्ष २०७९–२०८० आर्थिक विधेयक २०७९ मा करका दरहरु हेरफेर गर्नेसम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशन भएको र सो विषय लिएर सदस्यहरुले समेत सदनमा कुरा उठाइएको सम्बन्धमा सत्य तथा सत्यतथ्य छानबिन गर्न एक संसदीय विशेष समिति गठन गर्न वान्छनीय हुने भएकाले प्रतिनिधिसभा नियमावली अनुसार संसदीय छानबिन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव गर्दछु ।’










