देशको हित विपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ : प्रधानमन्त्री देउवा
- असार १, २०७९
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमकितामाथि प्रश्न उठ्ने गरी सरकारले कुनैपनि सम्झौता नगर्ने बताएका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री देउवाको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० सम्झौता गर्ने तयारी गरेपछि प्रचण्ड-माधव नेपाल देउवालाई भेट्न पुगेका थिए।
भेटमा प्रधानमन्त्री देउवाले देशको हित विपरितका कुनै सम्झौतामा हस्ताक्षर नगर्ने बताएको समाजवादीका अध्यक्ष माधव नेपालले बताए।
पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले भने, ‘एसपिपीबारे छलफल गर्न हामी बिहान बालुवाटार पुगेका थियौँ। छलफलमा देउवाजीले देशको हितविपरीत कुनै सम्झौता नगर्ने बताउनुभएको छ।’
एसपिपी पहिलेदेखि चर्चामा रहेको विषय भए पनि सम्झौता हस्ताक्षर नहुने देउवाले आश्वासन दिएका थिए। सरकारले एसपिपी अगाडि बढाउन लागेको भन्दै सडकदेखि सदनसम्म चर्को आलोचना भइरहेको छ।










