सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

news-details

प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए । संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेको हो।

त्यस लगत्तै सभामुख सापकोटाले सदनमा सरकारको नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रम सदनको ध्वनि मतले पारित गरेको घोषणा सभामुख सापकोटाले गरे ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ। आइतबार दिउँसो ४ बजे सरकारले बजेट ल्याउनेछ। संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउन लागेको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया