स्थानीय तह निर्वाचन :तीन सय बढी स्थानमा विजयी भई कांग्रेस सबैभन्दा अगाडी

news-details

यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख-अध्यक्ष निर्वाचित हुने स्थानीय तहको सङ्ख्या तीन सय पाँच पुगेको छ । शनिबार बिहानसम्म आएको मत परिणामअनुसार काँग्रेसका उम्मेदवारहरूले तीन सय पाँच स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेका छन् । तीन सय पाँच स्थानमा विजयीसँगै सबैभन्दा धेरै पालिकामा विजयी हुनेमा कांग्रेस पहिलो पार्टी बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २०७४ को स्थानीय चुनावमा जितेको भन्दा यस पटक नेपाली काँग्रेसले बढी स्थानीय तहमा जित हासिल गर्ने अवस्था देखिएको छ । यस पटक एमालेले शुक्रबारसम्म नगरप्रमुख तथा गाउँपालिका अध्यक्ष पदमा १८५ उम्मेदवारलाई जिताउन सफल भएको छ । उपप्रमुख तथा उपाध्यक्ष पदमा काँग्रेसका तर्फबाट उम्मेदवारले २७६ स्थानमा जित हासिल गरेका छन् भने एमालेका २१० जना उम्मेदवार नगर उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट ११७ स्थानमा प्रमुख र अध्यक्ष तथा १२३ स्थानमा उपप्रमुख र उपाध्यक्ष पदमा विजयी भएका छन् । चौथो दलका रूपमा जनता समाजवादी पार्टी आएको छ । सो पार्टीले २१ वटा नगरप्रमुख तथा अध्यक्षमा जित हासिल गरेको छ भने २३ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा बाजी मारेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले हेटौँडा उपमहानगरपालिका प्रमुखसहित १७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ भने उपप्रमुख तथा उपाध्यक्ष पदमा १९ जनालाई जिताउन सफल भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले विशेष गरी मधेस प्रदेशका आफ्नो प्रभाव देखाएको छ । सो पार्टीका तर्फबाट उम्मेदवार भई जित्ने नगरप्रमुख तथा अध्यक्षको सङ्ख्या दश जना पुगेका छ भने उपप्रमुख तथा उपाध्यक्षको सङ्ख्या ९ जना पुगेको छ ।

७५३ स्थानीय तहमध्ये हालसम्म ६८२ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । कतिपय स्थानको मतगणना जारी रहेको छ भने कतिपय स्थानमा राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा निर्वाचन सम्पन्न भएर पनि मतगणनाको कार्य सुचारु हुन सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया