मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर चिनाउन योगदान गर्छ : प्रधानमन्त्री देउवा
- जेष्ठ २, २०७९
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पुर्याउने बताएका छन ।
मोदीको उपस्थितिले लुम्बिनी ऐतिहासिक गौरव बढेको उनको भनाइ छ। लुम्बिनीमा सोमबार आयोजित २५६६औँ बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उनले नेपाल भारतबीचको सम्बन्धलाई समेत भ्रमणले प्रगाढ बनाउन सहयोग पुग्ने उल्लेख गरे।
बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै उनले कोरोना महामारीका कारण विगतमा दुईवटा बुद्ध जयन्ती सीमित सहभागितामा मनाउनु परेको उल्लेख गर्दै यसपटक भव्य रुपमा समारोह आयोजना गर्न सफल भएकोमा खुुसी ब्यक्त गरे।
यसअघि मुलुकभित्रका जनकपुर, मुक्तिनाथ, पशुपतिनाथमा भ्रमण गरेर मोदीले दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेल्नुभएको भन्दै देउवाले प्रशंसा गरे। ‘‘यस्ता भ्रमणले ती तीर्थस्थलमा भारतीय पर्यटकको संख्या उलेख्य रुपमा वृद्धि भएको छ,’’ उनले भने, ‘यसका लागि प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्न चाहन्छु।’
समारोहमा मुलुकको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गरे। सोमबार भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर विभिन्न कार्यक्रममा सहभागी भएपछि अपरान्ह साढे ४ बजे स्वदेश फर्किएका छन ।










