स्थानीय निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि ‘मौन अवधि’ सुरु

news-details

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।

मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे। यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

आयोगले मंगलबार राति १२ बजेदेखि नै मतदान सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। प्रवक्ता पौडेलले आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको जानकारी दिए।

मतदानस्थल वरपर राखिएका प्रचार सामग्री आजै हटाउन आग्रह

निर्वाचन आयोगले मतदान स्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउनुपर्ने बताएको छ।

मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा पहिले नै हटाउन आयोगले आग्रह गरेको हो।

निर्वाचन आचारसंहिताअनुसार मतदान स्थल वरपर चुनावी प्रचारप्रसारका सामग्री राख्न मिल्दैन।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया