रामधुनीको विकास लागि यस्तो छ मेयर उम्मेदवार सुदीपका एजेन्डा

news-details

सुनसरीको रामधुनी नगरपालिकाको मेयरको उम्मेदवार बनेका सुदीप अधिकारीले ‘समानुपातिक विकास, समानुपातिक सहभागीता र समुन्नत नगर : सम्मानित नागरिक’लाई मुख्य एजेन्डा बनाएका छन्।

चुनावी अभियानमा घरदैलो कार्यक्रममा रहेका अधिकारीले गाउँहरुको सहरका रुपमा परिचित रामधुनी राजनीतिक रुपमा नगर भएपनि आर्थिक विकासका आधारमा नगर नभएको बताउँदै आफ्नो मुख्य एजेन्डा नै रामधुनीलाई राजनीतिक र आर्थिक दुवै हिसाबमा नगर बनाउने रहेको बताए ।

रामधुनी थारुहरुको बाहुल्यता रहेको क्षेत्र हो। तिनै थारुहरुको कला र संस्कृतिलाई आर्थिक उपार्जनसँग जोड्न पनि विशेष पहल गर्ने बताएका छन्। ‘रामधुनी थारु कला र संस्कृतिका हिसाबले धनी छ। त्यसलाई आर्थिक उपार्जनको माध्यम बनाउने योजना छ,’ उनले भने, ‘थारु समुदायको जीवनस्तर उकास्ने कामको नेतृत्व गर्न तयार छु।’

भाषा, कला र संस्कृतिको संरक्षणले मात्र विकाश सम्भव रहेको उल्लेख गर्दै अधिकारीले पछिल्लो समय लोप हुँदै गएका ग्रामथान र कोहबरको संरक्षणमा आफ्नो पहलकदमी रहने उल्लेख गरे।

एक घर, एक रोजगार

मेयरका उम्मेदावर अधिकारीले ‘एक घर, एक रोजगार’को योजनालाई पनि अगाडि सारेका छन्। त्यसका लागि पहिलो वर्ष हरेक युवालाई सीपयुक्त बनाउने र बाँकी वर्ष रोजगारीमा लगाउने उनको लक्ष्य छ । उनी भन्छन्, ‘ युवालाई आयआर्जन सँग जोड्ने र रामधुनीलाई बेरोजगार मुक्त नगर बनाउछु ।’

यस्तै, नगरमा सुविधा सम्पन्न रामधनुी अस्पतालको निर्माण पनि आफ्नो एजेन्डामा रहेको अधिकारीले बताएका छन्। नगारका बालाबालिकालाई उत्कृष्ट शिक्षा दिन सबैको रोजाईमा पर्ने नमूना विद्यालय निर्माण पनि आफ्नो योजना रहेको उनले बताए ।

स्मार्ट भिलेजको अवधारण

राजमार्गसँग जोडिएपनि अधिकांश गाउँले बस्ती रहेको रामधुनमा स्मार्ट भिलेजको अवधारणलाई मेयर उम्मेदवार अधिकारीले अगाडि सारेका छन्। सबै ग्रामीण बस्तीहरूमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत्लगायत पूर्वाधारको विकास गर्दै ‘स्मार्ट भिलेज’को अवधारणा कार्यान्वयन उनको योजना छ।

स्मार्ट भिलेजको अवधारणलाई मूर्तरुप दिन संघ र प्रदेशसँग सहकार्य गर्ने पनि उनले बताएका छन्। करको दायारा बढाउने र त्यसलाई विकासमा लगाउने योजना उनको छ। विभिन्न जात–जातिका धार्मिक तथा संस्कृतिको संग्रहालय निर्माणलाई पनि अधिकारीले आफ्नो योजनाका रुपमा अगाडि सारेका छन्।

यसैगरी उनले घरदैलो कार्यक्रममा क्रममा देखिएका जनताका समस्या टिपोट गरेको र आफू निर्वाचित भए ती समस्याहरु प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्ति गरे।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया