स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा दिने तयारी
- बैशाख २३, २०७९
- 0
सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य संस्था (अस्पताल)मा पनि २ दिन बिदा दिने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार स्वास्थ्य संस्था (अस्पताल)मा पनि दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको हो ।
मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए । “सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उनले भने, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौ ।”
अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताए ।
सरकारले जेठदेखि सरकारी कार्यालयमा २ दिन सार्वजनिक बिदा दिने र कार्यालय संचालन हुने दिन बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।










