रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

news-details

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ (मत्स्येन्द्रनाथ) को रथयात्रा बुधबार शुरु हुँदैछ।

ललितपुरको दमकल चोकमा निर्माण गरिएको रथलाई बुधबार दिउँसो ४ बजे तान्न शुरु गरिनेछ। पाटनका ९ टोलका धिमे बाजा टोली भेला भई बाजागाजासहित रथ तानिने नाःटोल मंकाखलका अध्यक्ष कदमलाल महर्जनले जानकारी दिए।

प्रत्येक वर्ष रथ तान्न ९ टोलले पालैपालो नेतृत्व गर्ने परम्परा अनुसार यो वर्ष बागर टोलले रथ तान्ने नेतृत्व गर्नेछ । रथलाई बुधबार दमकल चोकबाट तानेर गाःबहाल पुर्‍याइनेछ।

मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

लगातार दुई वर्ष कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यसपटक पूर्ण विधिकासाथ मनाइने भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया