एआइजी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

news-details

नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार न्यायाधीश डा।कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाइएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन ।

यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो ।

एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्कीले चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही विषयलाई लिएर डीआइजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो । आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया