स्थानीय तह निर्वाचनको मतपत्र छपाई सुरु, २३ लहरका ७७ प्रकारका मतपत्र हुने

काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर, डोल्पाको सबैभन्दा कम १६ लहर
news-details

निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिएका हुन ।

उनका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने छ ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंका हुनेछन् ।,’प्रवक्ता पौडेलले भने ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि मतपत्र छपाइ कार्य सुरु हुने उनले बताए । उनका अनुसार पहिला दुर्गम जिल्लाका लागि मतपत्र छपाइ हुने छ । त्यसपछि सुगम जिल्लाका मतपत्र छाप्ने कार्य हुने छ । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए ।

‘मनाङ‚ हुम्ला‚ जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ‚’ प्रवक्ता पौडेलले भने ।

त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ । यसैगरी, प्रवक्ता पौडेलका अनुसार एक लाख ८० हजार थान नमुना मतपत्र छापिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया