स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने सत्ता गठबन्धनको निर्णय, पाँच दलीय संयन्त्र बनाउने

news-details

 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने छ,’ प्रवक्ता कार्कीले भने ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आगामी स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय भएको जानकारी दिए । उनले निर्वाचनमा पाँच दलबीचमा मात्रै तालमेल गर्ने निर्णय भएको पनि बताए ।

त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ ।,’ उनले भने, ‘त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।’

पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै गठबन्धनमा रहेका दल नेताहरूले भ्रमणको सफलताको शुभकामना दिएको मन्त्री कार्कीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया