सर्लाहीमा बस दुर्घटना हुदा चार जनाको मृत्यु, ३२ जना घाइते
- चैत्र १३, २०७८
- 0
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको स्थानीयले बताएका छन् । सोमध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बताए ।
ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ ।
गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा बस चालक घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।










