चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौ आइपुगे
- चैत्र ११, २०७८
- 0
चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार काठमाडौ आइपुगेका छन ।
तीन दिने भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी लगायतले स्वागत गरेका छन ।
विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण हुँदै काठमाडौं आइपुगेका हुन । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन ।
विमानस्थलबाट उनी बत्तिसपुतलीस्थित होटल द्वारिकामा पुगेका छन । शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। शनिबार साँझ नै परराष्ट्र मन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन । आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ ।
शनिबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट हुनेछ।
विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।










