चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरुसँग भेट गर्ने

news-details

चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार नेपाल आउँदै छन । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछन ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सीमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ ।

यस्तै जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने पनि मन्त्रालयले जनाएको छ ।

यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनस्र्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको छ । त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया