एमसीसी टेन्डरका लागि तयार रहन व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह
- फाल्गुन २७, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत हुने पूर्वधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन ।
शुक्रबार नेपाल निर्माण व्यवसायी संघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकोले यसमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई आग्रह गरेका हुन ।
‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ । नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुहोस् । सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुने छु ।,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बिडिङ हुन्छ । यसमा संसारका जो पनि आउन सक्छ । चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरु पनि सहभागी हुनुहोस् ।’
त्यस्तै, उनले निर्माण व्यवसायीलाई सहज बनाउन सार्वजनिक खरिद नियमावली संशोधन गरेको समेत बताए । उनका अनुसार सार्वजनिक खरिद व्यवसायीलाई चुस्त र पारदर्शी र प्रतिश्पर्धी बनाउन सरकार सदैव तत्पर छ ।
निर्माण व्यवसायीको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध छ । भौतिक पूर्वधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन । भौतिक पूर्वधार विकास निर्माण व्यवसायीबाट मात्र सम्भव रहेको उनको भनाइ छ ।










