बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन
- फाल्गुन १८, २०७८
- 0
राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन्।
आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरूङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्र गर्ने निर्देशन दिएको बताए।
‘कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिनुभयो’, उनले भने, ‘ग्राभेल भएको जोमसोम–कोरला खण्डको सडक कालोपत्र गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिनुभएको छ।’
सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो। कोरला नाका भएर व्यापार गर्न तथा परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासका लागि उक्त कार्य आवश्यक भएको उनले बताए। मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनुपर्नेमा पौडेलले जोड दिए।
आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए। चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ। १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको १३ मध्ये जोमसोम–कोरला खण्डको ६ खण्डको स्तरोन्नति सकिएको छ।
आइतबार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल, संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका ईन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली मंगलबार काठमाडौँ फर्किएको छ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आयोगको टोलीले बेनी–जोमसोम–कोरला सडक र उपल्लो मुस्ताङका गुम्बाको अनुगमन गरेको बताए। स्थलगत निरीक्षणपछि टोलीले जोमसोममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालासँग छलफल गरेको थियो।
मुस्ताङमा सञ्चालित कृषि परियोजना र त्यसको प्रभावकारिताको विषयमा समेत टोलीले मार्फाका किसानसँग छलफल गरेको थियो।
-रासस










