एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्दछ- एमाले (वक्तव्यको पूर्णपाठसहित)
- फाल्गुन १७, २०७८
- 0
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।
एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गरेर सुनाएका थिए ।
‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
एमालेले सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखेकोमा रोष प्रकट गर्दै पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको बताएको छ ।
‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ’ विज्ञप्तिमा भनिएको छ ।














