एमसीसीबारे निर्णय लिन आजपनि सत्ता गठबन्धनको बैठक बस्दै

news-details

अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

हिजो बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज शुक्रबार बिहान १० बजे पुनः बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, एमसीसीबारे पक्षविपक्ष वा साझा धारणा र गठबन्धनको भविष्य के हुने भन्ने विषयमा केन्द्रीत रहेर ‘निर्णायक’छलफल हुँदैछ ।

प्रधानमन्त्री देउवाले सहमति नजुटे पनि आजै एमसीसी अघि बढाउने अडान लिँदै आएका छन् । यसलाई संसद्को प्रक्रियामा लैजान ढिलाइ गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ छ ।

देउवा, दाहाल र नेपालबीच यसअघि एमसीसी संसद्मा टेबल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदन गर्न सहयोग पुर्‍याउने र प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने समझदारी बनेको थियो । तर, उक्त सहमतिको गठबन्धनका दलले उल्लंघन गरेको भन्दै देउवाले ओलीसँग निकटता बढाएको कांग्रेसकै नेताहरू बताउँछन् ।

संसद बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरमा बस्दै छ । यद्यपि, आजको बैठकको कार्यसूचीमा एमसीसी भने राखिएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया