सेनाले शुक्रबारबाट मेलम्ची मुहानको ढुङगा फुटाउन शुरु गर्ने

news-details

मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङगालाई विष्फोट गराउन नेपाली सेनाले शुक्रबारदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङगाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो ।

मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैत भित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विष्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसेको छ ।

भोलिदेखि विष्फोटन गरी काम शुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिए । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ ।

मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठुल्ठूला ढुङगा भेटिएपछि फिष्फोटन नै गर्नुपर्ने भएको हो । गत असार एक गतेको बाढीपहिरोले क्षति पु¥याएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।

बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्व ८८ करोड रुपैयाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिव ३५ अर्व लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षण स्वरुप वितरण गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया